काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बू ‘चेस प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ का लागि आइतबार बंगलादेशको पर्यटकीय सहर कक्स–बजार प्रस्थान गरेकी छन्।
उनलाई विश्व बुद्धिचाल महासंघ (फिडे) ले मुभमेन्ट इन रिफ्युजी (एमआईआर) र हिमालयन चेस एकेडेमी (एचसीए) को सहकार्यमा सन्चालन गरिने एक साता लामो प्रशिक्षक प्रशिक्षण कार्यक्रममा फिडे इन्स्ट्रक्टर (एफआई) को जिम्मावारीसहित बंगलादेश पठाएको हो। उनले एमआईआर, यूएनएचसीआर र कक्स–बजार चेस क्लबका २० जनालाई ट्रेनिंग दिनेछिन्, जसब उनीहरू सामुदायिक प्रशिक्षक बन्नेछन्।
हिमालयन चेस एकेडेमीकी संस्थापक र फिडे कमिसन फर वुमेन्स चेसकी सदस्यसमेत रहेकी खम्बूले यसअघि चेस फर प्रोटेक्सन अन्तर्गत कक्सबजारस्थित रोहिंग्या शरणार्थी समुदायका बालबालिकालाई पनि चेस ट्रेनिंग दिइसकेकी छन्।
अमेरिकी संस्था द गिफ्ट अफ चेसकी एम्बासडरसमेत रहेकी खम्बू नेपालकी पहिला महिला राष्ट्रिय च्याम्पियन हुन्। उनले नेपालको प्रतिनिधित्व गर्दै चेस ओलम्पियाड (सन् २०१४, २०१६ र २०१८), एसियन गेम्स (२००६ र २०१०), एसियन इन्डोर एन्ड मार्शल आट्र्स गेम्स (२००९, २०१३ र २०१७) लगायत थुप्रै प्रतियोगिता खेलेकी छन्।