पिकलबल विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं। अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा आयोजना हुने पिकलबल विश्वकप २०२६ का लागि नेपालको राष्ट्रिय टोली घोषणा भएको छ।

पिकलबल एसोसिएसन नेपालले मंगलबार होलिडे इन एक्सप्रेस नक्सालमा एक कार्यक्रम आयोजना गर्दै विश्वकपका लागि १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षमाथिको सिनियर क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीको नाम सार्वजनिक गरेको हो।

सिनियर क्याटेगोरीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान रहेका छन्।

त्यस्तै, ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्ष्या राना, सञ्जील कन्साकार र किरण खनाल छनोट भएका छन्।

कार्यक्रममा बोल्दै पिकलबल एसोसियसन नेपालका अध्यक्ष सौरभ भण्डारीले पिकलबलको विकासका लागि पाँच वर्षदेखि गरिएको निरन्तर प्रयासको परिणामस्वरूप नेपाल पहिलोपटक विश्वकपमा सहभागी हुने हुँदा नेपाली खेलाडीहरूले विश्वमाझ नेपालको खेल क्षमता र राष्ट्रिय गौरव प्रस्तुत गर्दै पदक जित्ने विश्वास व्यक्त गरे

कार्यक्रममा अध्यक्ष सौरभ भण्डारी, वरिष्ठ पत्रकार दिलभुषण पाठक, टिम नेपालका क्याप्टेन ज्याक्सन सुवेदी लगायतले विश्वकपको तयारी, संभावना र अनुभव राखेका थिए।

विश्वकपमा नेपालले विश्वका विभिन्न देशका खेलाडीसँग प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय पिकलबलमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य राखेको छ । प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख अमेरिकी डलर रहेको छ।

नेपाली टोलिलाई बामबाम हाइड्रेसन इनर्जी ड्रींक मुख्य प्रायोजक रहेको छ भने करेन्ट नुडल्स, गोर्खा एथलेटिक्स, माछापुच्छ्रे बैंक, होलिडे इन एक्सप्रेस होटल, एरिन हस्पिटल लगायतको प्रायोजन तथा सहयोग रहेको छ।

पिकलबल टेनिस, ब्याडमिन्टन र टेबल टेनिसको मिश्रित स्वरूपजस्तो देखिने र्‍याकेट खेल हो। यसमा प्याडल र प्वाल भएको हल्का प्लास्टिकको बल प्रयोग गरिन्छ। टेनिसको तुलनामा सानो कोर्टमा नेट राखेर खेलिने पिकलबल एकल वा दुई–दुई जनाको टोली बनाएर खेल्न सकिन्छ।

सरल नियम र सहज खेलशैलीका कारण पछिल्लो समय पिकलबल विशेषगरी अमेरिकाबाट विश्वका विभिन्न देशमा तीव्र रूपमा लोकप्रिय हुँदै गएको छ। शारीरिक सक्रियतासँगै मनोरञ्जन र सामाजिक सहभागिताका लागि समेत उपयुक्त मानिने यो खेलमा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय स्तरमा नेपाली पिकलबलको पहिचान विस्तार गर्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको