काठमाडौं। कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार दोस्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा कर्णालीले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हरायो। कर्णालीले तीनै सेट समान २५–१९ ले जित्यो। कर्णालीका अलिरेजा अबालुच ‘प्लेयर अफ द म्याच’ चुनिए।
पहिलो खेलमा कर्णालीले अन्नपूर्णलाई ३–१ ले पाखा लगाएको थियो। २ खेल नै खेलेको खप्तड लगातार दोस्रो खेलमा चुक्यो। सुरुमा खप्तड सगरमाथा स्म्यासर्ससँग पनि ३–० कै सोझो सेटमा निराश भएको थियो। प्रतियोगिताअन्तर्गत सोमबार मधेश वारियर्स र अन्नपूर्ण तथा सगरमाथा र कर्णालीबीच खेल हुनेछ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन्।