काठमाडौं । साउदी प्रो लिगमा अल हिलालले सिजनको पहिलो हार बेहोरेको छ। घरेलु मैदानमा सोमबार राति भएको खेलमा अल हिलाल नियोम एससीसँग २–० ले पराजित भयो।
नियोमको जितमा अल हिलालका डिफेन्डर कालिदोउ कुलिबालीले १५औँ मिनेटमा आत्मघाती गोल गरे। त्यसपछि अमादोउ कोनेले पहिलो हाफको अन्त्यतिर गोल गर्दै नियोमको अग्रता २–० बनाए।
दोस्रो हाफमा अल हिलालले गोल फर्काउन लगातार प्रयास गरे पनि नियोमको रक्षापंक्तिले उसको आक्रमणलाई रोक्दै महत्वपूर्ण तीन अंक सुरक्षित गर्यो।
यो हारसँगै अल हिलालको साउदी प्रो लिगमा ४७ खेलदेखिको अपराजित यात्रा पनि टुंगिएको छ।
हारका बाबजुद अल हिलाल ६ खेलबाट १५ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा यथावत् छ। नियोम भने समान ६ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ।