यु–१६ अन्तरविद्यालय बास्केटबल भोलिदेखि

काठमाडाैं। नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ।

प्रतियोगितामा ४० टिमको सहभागिता रहने नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। अध्यक्ष प्रधानले ग्रासरुटदेखि नै बास्केटबलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउदै प्रतियोगिता सञ्चालन गर्न करिब १८ देखि २० लाख रुपैयाँ खर्च हुने बताए।

प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाले राष्ट्रिय टिमलाई बलियो बनाइ राख्न विभिन्न उमेरसमूहका प्रतियोगिताले प्राथमिकता पाउनु पर्नेमा जोड दिए। नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापाले प्रतियोगिता यु–१६ साबा बास्केटबलका लागि प्रारम्भिक खेलाडी छनोटका रुपमा समेत रहेको बताए।

राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले नेपाली खेलकुद क्षेत्रको विकास र विस्तारमा नेपालयको योगदान प्रशंसनीय रहेको बताए। प्रतियोगिता लिग कम नकआउट पद्धतिमा खेलाइने प्रतियोगिता संयोजक डिकेश प्रधानले जानकारी दिए। असोज १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल र त्यसैको छेउमा रहेको आउटडोर कोर्टमा खेलाइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको