जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो सिजनका लागि पाकिस्तानी ब्याटर इफ्तिखार अहमदलाई अनुबन्धन गरेको छ । उनी आउँदो एनपिएलका लागि जनकपुर बोल्ट्सले घोषणा गरेको तेस्रो विदेशी खेलाडी हुन् ।
पहिलो सिजनको एनपिएल च्याम्पियन जनकपुर बोल्ट्सले यसअघि नै अलराउन्डरद्वय अमेरिकाका हरमित सिंह र न्युजिल्यान्डका जिम्मी निसमलाई टोलीमा समावेश गरिसकेको छ । एसोसिएट क्रिकेटका प्रभावशाली खेलाडी हरमितले जनकपुरको कप्तानी पनि गर्नेछन् ।
अनुभवी पाकिस्तानी ब्याटर अहमदले ४ टेस्ट, २८ एकदिवसीय अन्तर्राष्ट्रिय र ६६ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा ३६ वर्षे अहमदले एक शतक बनाएका छन्, जुन उनले सन् २०२३ मा पाकिस्तानको मुल्तानमा नेपालविरुद्ध एसिया कपमा थियो । २८ औं ओभरमा ब्याटिङमा आउँदै उनले ७१ बल खेली ११ चौका र ४ छक्का प्रहार गरी आउट नभई १ सय ९ रन बनाएका थिए ।
त्यसको ठिक अघि उनले कँराचीमा न्युजिल्यान्डविरुद्ध आउट नभई ९४ रन बनाएका थिए । अहमदले एकदिवसीय अन्तर्राष्ट्रियमा १०६ माथिको स्ट्राइक रेटमा र टी–२० अन्तर्राष्ट्रियमा १२९ माथिको स्ट्राइकमा रन बनाएका छन् । त्यस बाहेक उनी अफ स्पिन बलिङ पनि गर्छन् । उनले सन् २०२० मा जिम्बावेविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा ४० रन खर्चेर ५ विकेट लिएका थिए ।
उनले २०२४ मा अमेरिकामा भएको टी–२० विश्वकपमा पछिल्लो पटक पाकिस्तानका लागि खेलेका थिए । अहमदले सबै खाले टी–२० मा ३२९ खेल खेल्दै ६ हजारभन्दा बढि रन बनाएका छन् । ‘इफ्तिखार अहमदको आगमनले हाम्रो टोलीमा अनुभव, आक्रामकता र म्याच विनिङ क्षमता थपेको छ । गत सिजन पुछारमा रहँदाको पिडा हामीले बिर्सेका छैनौं यही पिडलाई प्रेरणामा बदल्दै यसपटक हामी अझ बलियो भएर फर्किदै छौं । यो हाम्रो पुनरागमनको सिजन हो र हामी हाम्रा समर्थकलाई गर्व गर्ने कारण दिन तयार छौं,’ निरोज खतिवडा, प्रमुख कार्यकारी अधिकृत, जनकपुर बोल्ट्स ।