काठमाडौं। एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको समूह ‘ए’ मा अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरेको छ।
अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७।२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि सन्दीप जोराले ३४ तथा कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए भने रोहित पौडेलले ३३ रनको योगदान दिए।
बलिङतर्फ कुशल भुर्तेलले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए। ललित राजवंशीले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएपछि अफगानिस्तान ठूलो स्कोर बनाउनबाट रोकिएको थियो।
जितपछि कप्तान दीपेन्द्रले पिचको अवस्थालाई ध्यानमा राख्दै नेपालले आफ्ना स्पिनरबाट राम्रो प्रदर्शनको अपेक्षा गरेको र कुशल भुर्तेल तथा ललित राजवंशीले योजनाअनुसार बलिङ गरेको बताए।
‘पिच हेर्दा हाम्रा स्पिनरले राम्रो गर्ने सोच थियो। कुशल र ललितले राम्रो बलिङ गरेपछि अफगानिस्तानलाई कम स्कोरमा रोक्न सफल भयौं। त्यसले लक्ष्य पूरा गर्न सहज भयो,’ दीपेन्द्रले भने।
उनले अफगानिस्तानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको बताउँदै अब जापानविरुद्धको खेलमा पनि जित निकालेर क्वाटरफाइनल पुग्ने लक्ष्य रहेको बताए। ‘हामी पदकका लागि आफ्नो तर्फबाट शतप्रतिशत दिनेछौं,’ दीपेन्द्रले भने।
यस्तै, ओपनर कुशल भुर्तेलले आफ्नो प्रदर्शनबारे ब्याटिङभन्दा बलिङमा राम्रो गर्न सफल भएको बताए। उनले आफूले बलिङ र ब्याटिङ दुवैमा रमाउने गरेको भए पनि मुख्य भूमिका ब्याटिङ नै रहेको उल्लेख गरे।
नेपालले अब समूह चरणको दोस्रो खेलमा शनिबार आयोजक जापानसँग खेल्नेछ। समूह ‘ए’ मा नेपालसँगै अफगानिस्तान र जापान छन्। शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्।