खैरा क्लबको विजयी सुरुआत, मणिमुकुन्द पराजित

बुटवल, असोज १३ गते । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा भारतको खैरा भलिबल क्लबले विजयी सुरुआत गरेको छ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा जारी प्रतियोगितामा पहिलो खेलमा खैराले मणिमुकुन्द भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २६–२४, २५–१८ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेटमा मणिमुक्न्दले २५–२२ ले आफ्नो पक्षमा पार्दै खेल चौथो सेटमा थकेल्यो। तर, चौथो सेटमा २५–२० ले पराजित भएसँगै खेलमा खैराले बाजी बार्यो।

समूह ए मा रहेको मणिमुक्न्दले दोस्रो खेलमा श्रीलंकन पुलिससँग खेल्नेछ। यस्तै आजको दोस्रो खेलमा गल्कोट भलिबल क्लब र भारतको गुजराज स्र्पोटिङ क्लब, तेस्रो खेलमा श्रीलंका पुलिस क्लब र विभायीय टोली नेपाल पुलिस क्लब तथा चौथो खेलमा सभापोखरी भलिबल क्लब र नेपाल एपीएफ क्लब भिड्नेछन्।

प्रतियोगिताको औपचारिक उद्घाटन दिउँसो १ः०० बजे पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए। प्रतियोगिताको पहिलो दिन सोमबार सभापोखरी भलिबल क्लब र भारतको गुजराज स्र्पोटिङबिचको खेल कमजोर प्रकाशका कारण पहिलो सेटपछि रोकिएको थियो। असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा स्वदेशी र विदेशका गरी आठ टोलीको सहभागिता रहने छ। सहभागी टोलीलाई दुई समूहका विभाजन गरिएको छ।

प्रतियोगिताको विजेता टोलीलाई रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ, उपविजेतालाई तीन लाख ५० हजार रुपैयाँ, तेस्रो हुनेलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष आचार्यले जानकारी दिए।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार नगदसहित सम्मान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको