काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो।
काठमाडौंका लागि राशिद खानले अविजित ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। दुशन हेमन्थाले २१, सन्तोष यादवले १० तथा करण केसीले ८ रन बनाए। सुदूरपश्चिमका अनिल खरेलले २ तथा स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलेनले समान १ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो। खराब सुरुवात गरेको सुदूरपश्चिमले ८ रन जोड्दा चार विकेट गुमाइसकेको थियो।
कप्तान दीपेन्द्रसिंह ऐरीले ५५ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ६० रन बनाए। थारिन्दु रत्नायकेले अविजित २६ तथा आरिफ शेखले १६ रनको योगदान दिए।
काठमाडौंका जहान्दाद खानले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे।
यस जितसँगै सुदूरपश्चिमले लिग चरणका ७ खेलबाट १० अंक जाेड्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।
