पारा तेक्वान्दो टोली कोरिया जाने

काठमाडौं कात्तिक २९ गते । ११औं विश्व पारा तेक्वान्दो प्रतियोगिता (जी १४) मा सहभागी हुन २ पुरुष खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको मुजु प्रस्थान गर्ने भएको छ।

विश्व तेक्वान्दो महासंघको कार्यक्रम अनुसार नोभेम्बर २० देखि २२ तारिखसम्म हुने प्रतियोगितामा दिपेश महतले के ४१ क्याटगोरीअन्तर्गत ५८ केजीमुनि तथा के ४४ क्याटगोरीअन्तर्गत ६३ केजीमुनि अमिर भ्लोनले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

दिपेशको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। अमिरले ३ एसियाली च्याम्पियनसिप, पेरिस पारालिम्पक छनोटलगायत अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । विश्व च्याम्पियनसिपमा भने अमिर पहिलोपटक सहभागी हुँदै छन्।

टिम व्यवस्थापकमा नेपाल तेक्वान्दो महासंघका महासचिव हेमन्त डाँगी र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्। टोलीलाई नेपाल तेक्वान्दो संघका सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशम्सेर राणा, तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङ, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले आइतबार सातदोबाटोमा बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको