काठमाडौं। बाल क्रिकेटको विकास तथा प्रतिभावान् खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले राइजिङ स्टार यू–१२ ब्वाइज खुला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
काठमाडौंको गोकर्णेश्वर मैदानमा मंसिर १ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ। तीमध्ये आठ टोली जिल्ला स्तरबाट सहभागी हुनेछन्। जिल्ला स्तरबाट सहभागी हुने टोलीका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको आयोजकले जनाएको छ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ र उपविजेता टोलीले ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई किट ब्याग, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट तथा उत्कृष्ट बलरलाई क्रिकेट जुत्ता प्रदान गरिनेछ।
प्रतियोगिता ४० ओभरको हुनेछ। खेलाडीहरूले सेतो पोसाकमा रातो बल प्रयोग गरी प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताका निर्देशक सुनिलमान अमात्यका अनुसार नेपालमा यू–१२ उमेर समूहमा सेतो पोसाक र रातो बल प्रयोग गरी आयोजना हुन लागेको यो पहिलो प्रतियोगिता हो।
प्रतियोगिताका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले १६ टोलीलाई चार समूहमा विभाजन गरिएको जानकारी दिए। उनका अनुसार प्रतियोगिताको उद्घाटन खेल भोलि राइजिङ स्टार र सीईसी भक्तपुरबीच हुनेछ।
बाल उमेरदेखि नै खेलाडीको सीप र क्षमता विकास गर्दै भविष्यका क्रिकेट प्रतिभा उत्पादनमा योगदान पुर्याउने लक्ष्य प्रतियोगिताले लिएको आयोजकले जनाएको छ।
