एनपीएलमा पोखराको कीर्तिमानी प्रदर्शन, पाँच उपलब्धिमा कुशल भुर्तेल पनि

काठमाडौं। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आइतबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाजलाई ५५ रनले पराजित गर्दै पाँचवटा कीर्तिमान बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो। यो एनपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो। यससँगै पोखराले एनपीएलमा विपक्षी टोलीलाई दिएको अहिलेसम्मकै ठूलो २२५ रनको लक्ष्य पनि बनाएको छ।

पोखरा एकै संस्करणमा दुई पटक २०० भन्दा बढी रन बनाएको छ। यसअघि उसले कर्णाली याक्सविरुद्ध २१७ रन बनाएको थियो।

त्यस्तै, पोखराका कुशल भुर्तेल र युवराज सामराले दोस्रो विकेटका लागि १८६ रनको साझेदारी गरे। यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी हो। यसअघि पोखराकै एन्ड्रिज गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध १७६ रनको अविजित साझेदारी गरेका थिए।

यस खेलमा ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन बनाएका कुशल भुर्तेल एनपीएलमा सर्वाधिक व्यक्तिगत रन बनाउने नेपाली ब्याटर बने। उनले रोहित पौडेलको नाममा रहेको ९५ रनको कीर्तिमान तोडे। उनी एनपीएलमा शतक बनाउने पहिलो नेपाली खेलाडी बन्न भने एक रनले चुके।

पोखराले उक्त खेलमा प्रहार गरेका १८ चौका र १५ छक्काबाट कुल १६२ रन बनाएको थियो। यसले एकै इनिङ्समा बाउन्ड्रीबाट बनेका रनको नयाँ कीर्तिमानसमेत कायम गरेको छ।

२२५ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोर्खाज १९.५ ओभरमा १६९ रनमा समेटियो। पोखराले ५५ रनको जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको