काठमाडौँ। स्विट्जरल्यान्डले युईएफए नेसन्स लिगअन्तर्गत लिग बी समूह बी१ को अन्तिम खेलमा स्कटल्यान्डलाई ४–० गोलले पराजित गरेको छ।
सोमबार राति सम्पन्न खेलमा स्विट्जरल्यान्डलाई जित दिलाउन विन्स्ले बोतेली, एल्भिन सान्चेस र जेकी अम्दुनीले गोल गरे। स्विट्जरल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो।
खेलको २२औँ मिनेटमा स्कटल्यान्डका लुइस फर्गुसनले आत्मघाती गोल गरेपछि स्विट्जरल्यान्डले अग्रता लिएको थियो। दोस्रो हाफको ४७औँ मिनेटमा बोतेलीले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यसको चार मिनेटपछि सान्चेसले तेस्रो गोल थपे। खेलको ८९औँ मिनेटमा अम्दुनीले गोल गर्दै स्विट्जरल्यान्डको ४–० को जित सुनिश्चित गरे।
यस जितसँगै स्विट्जरल्यान्डले समूह चरणका ६ खेलमा पाँच जित र एक बराबरीको नतिजा निकाल्दै अपराजित रह्यो। १६ अंक जोडेको स्विट्जरल्यान्ड समूह बी१ को विजेता बनेको छ।
समूह विजेता बनेसँगै स्विट्जरल्यान्ड आगामी संस्करणको नेसन्स लिगमा लिग ए मा बढुवा भएको छ। दोस्रो स्थानमा रहेको स्लोभेनियाले ११ अंक जोड्दै बढुवा प्लेअफमा स्थान बनाएको छ। स्कटल्यान्ड ७ अंकसहित तेस्रो स्थानमा रहँदा उत्तरी म्यासेडोनिया अंकविहीन हुँदै चौथो स्थानमा रह्यो।
