काठमाडौँ । युईएफए नेसन्स लिगअन्तर्गत समूह ए४ को अन्तिम खेलमा नर्वेले डेनमार्कलाई ३–२ गोलले पराजित गरेको छ।
मंगलबार राति डेनमार्कको घरेलु मैदानमा भएको खेलमा नर्वेले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै अन्तिम समयमा रोमाञ्चक जित निकालेको हो।
खेलको ११औँ मिनेटमा रास्मुस होयलुन्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि नै पियरे एमिल होयबियर्गले गोल थपेपछि डेनमार्कले २–० को अग्रता बनाएको थियो।
तर, ३७औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई खेलमा फर्काए। पहिलो हाफमा २–१ ले पछि परेको नर्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो।
खेलको ८३औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गोल गर्दै नर्वेलाई २–२ को बराबरीमा ल्याए।
खेल बराबरीतर्फ अघि बढिरहेका बेला इन्जुरी समयको छैटौँ मिनेटमा नर्वेले पेनाल्टी पायो। उक्त अवसरलाई हालान्डले गोलमा परिणत गर्दै नर्वेलाई ३–२ को अविश्वसनीय जित दिलाए।
यस जितसँगै नर्वेले ६ खेलबाट ९ अंक जोड्दै समूह ए४ को दोस्रो स्थानमा रहेर क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। समान ९ अंक भए पनि डेनमार्क तेस्रो स्थानमा रह्यो। समूहको शीर्ष स्थानमा रहेको पोर्चुगलले १५ अंक जोडेको छ।
