काठमाडौँ । साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
लुम्बिनीको जितमा नीरोजन डिक्वेलाले सर्वाधिक ५९ रन बनाए। उनले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले २१, दिलीप नाथले अविजित १० तथा सन्दीप जोराले ८ रन जोडे।
लुम्बिनीका ओपनर डर्सी सर्ट खाता नखोली आउट भए भने आसिफ शेखले ४ रन मात्र बनाउन सके। कप्तान रोहित र डिक्वेलाले तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए।
सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले २ तथा स्कट कुग्लिन र हेमन्त धामीले १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए। उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। इशान पाण्डेले २७ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
लुम्बिनीका बलर रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए। किशोर महतो र अभिषेष गौतमले १–१ विकेट हात पारे।
यो जितसँगै लुम्बिनीले एनपीएलको फाइनलमा स्थान सुरक्षित गरेको छ। पराजित सुदूरपश्चिमले भने दोस्रो क्वालिफायर खेल्दै फाइनल प्रवेशको अर्को अवसर पाउनेछ।
