काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले २०२७ मा इंग्ल्यान्ड भ्रमण गर्ने भएको छ। भ्रमणका क्रममा नेपालले बंगलादेश, आयरल्यान्ड र स्कटल्यान्डसँग ६ वटा अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका प्राप्त भएको छ।
जुन १ देखि १२ सम्म हुने भ्रमणको मुख्य आकर्षणका रूपमा नेपालले जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
प्राप्त तालिकाअनुसार नेपालले जुन १ मा वर्म्स्लेमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमण सुरु गर्नेछ। त्यसको दुई दिनपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ।
त्यसपछि नेपालले जुन ६ मा वर्म्स्लेमा आयरल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ। जुन ९ मा सोही मैदानमा आयरल्यान्डसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने तालिका छ।
भ्रमणका अन्तिम दुई खेल जुन ११ र १२ मा बेकनहममा आयरल्यान्डसँग हुनेछन्। दुवै खेल टी–२० अन्तर्राष्ट्रिय स्वरूपका हुनेछन्।
नेपालले लर्ड्समा दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो भने बंगलादेशले उक्त मैदानमा पहिलो पटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
