महिला क्रिकेटमा एपीएफ र आर्मी विजयी

काठमाडाैं। दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन्। राष्ट्रिय खेलाडीको बाहुल्यता रहेका दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमै प्रभावशाली प्रदर्शन गर्दै फराकिलो जित निकालेका हुन्।

वीरेन्द्रनगरस्थित प्रादेशिक रङ्गशालाभन्दा माथिल्लो क्रिकेट मैदानमा भएको समूह ‘बी’ को खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई १५८ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

१९८ रनको विशाल लक्ष्य पछ्याएको लुम्बिनी १५ ओभर ४ बलमा ३९ रनमै समेटियो। लुम्बिनीका श्रुति बुढाथोकीले सर्वाधिक १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

लुम्बिनीको ब्याटिङ धराशायी पार्ने क्रममा एपीएफकी करुणा भण्डारीले तीन विकेट लिइन्। त्यस्तै, बिनु बुढा र मगर राजमति ऐरीले समान दुई-दुई विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा एक विकेट गुमाएर १९७ रनको विशाल योगफल तयार पारेको थियो। एपीएफका तीन ब्याटरले अर्धशतकीय पारी खेले।

कप्तान सीता रानामगरले ४२ बलमा एक छक्का र नौ चौकासहित ६६ रन बनाइन्। इन्दु वर्माले २७ बलमा १२ चौकाको मद्दतमा अविजित ५८ रनको आक्रामक पारी खेलिन्। त्यस्तै, रेवती धामीले ५३ बलमा अविजित ५५ रन जोडिन्।

यसैगरी, समूह ‘ए’ मा रहेको अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

कोशी प्रदेशले दिएको ६६ रनको लक्ष्य आर्मीले १३ ओभर १ बलमा चार विकेट गुमाएर पूरा गर्‍यो। आर्मीका लागि बिन्दु रावलले २१, रुबी पोदारले १८ र कविता कुँवरले अविजित १२ रन बनाइन्।

कोशीकी रुबिना क्षेत्रीले चार ओभरमा १२ रन खर्चेर तीन विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकिनन्।

त्यसअघि पहिले ब्याटिङ गरेको कोशी प्रदेश १८ ओभर ५ बलमा सबै विकेट गुमाएर ६५ रनमा समेटिएको थियो। कोशीका लागि रुबिना क्षेत्रीले ३६ बलमा एक छक्का र पाँच चौकासहित सर्वाधिक ३६ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कोशीले अतिरिक्तबाट १२ रन पाएको थियो।

कोशीलाई सस्तैमा समेट्ने क्रममा आर्मीकी यमुना थारूले उत्कृष्ट बलिङ गरिन्। उनले चार ओभरमा दुई मेडन राख्दै मात्र ६ रन खर्चेर चार विकेट लिइन्।

महिला क्रिकेटमा सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।

प्रतियोगिताको दोस्रो दिन भोलि मंसिर ९ गते पनि दुई खेल हुनेछन्। बिहान साढे ९ बजे हुने पहिलो खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दिउँसो हुने दोस्रो खेलमा कर्णाली प्रदेश र कोशी प्रदेश आमनेसामने हुनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको