मंसिर ९, काठमाडाैं। दशौं राष्ट्रिय खेलकुदको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिप बुधबार चार नयाँ कीर्तिमान बनेका छन्। पुरुष ४०० मिटरमा सुदुरपश्चिमका अर्थव सिंह, १०० मिटर ब्रेस्ट स्ट्रोकमा बागमतिका अभिव प्रधान र महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएन लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
नेपालगन्ज स्थित पौडी पोखरीमा भएको प्रतियोगिताको दोस्रो दिन सुदुरपश्चिमका अर्थवले स्वर्ण पदक जित्ने क्रममा आफनो कीर्तिमानलाई भंग गर्दै ४ मिनेट ५६.७६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे। यसअघि उनको नाममा सन् २०२५ मा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनेको थियो। अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत (५ मिनेट ०७.५७ सेकेन्ड) र बागमतिका अरिक कर्माचार्यले कास्य पदक(५ मिनेट २६.९९ सेकेन्ड) जिते।
महिला तर्फको ८०० मिटर फ्रिस्टायलमा लिलीले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४.०६ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छिन्। यसअघि उक्त इभेन्टमा सन् २०२५ मा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान बनेको थियो। लिलीले स्वर्ण जित्दा डुअनाले आफनै पुरानो समयलाई सुधार गर्दै ९ मिनेट ५९.५४ सेकेन्डमा पुरा गर्दै रजत र पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८.५८ सेकेन्ड सहित कास्य पदक हासिल गरिन्।
यसैगरी बुधबार बागमति प्रदेशका अभिव प्रधानले १०० मिटर फ्रिस्टायलमा १ मिनेट ०१.५१ सेकेन्डको नयाँ कीर्तिमान बनाउँदैं स्वर्ण पदक जिते। यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३.३९ सेकेन्डको कीर्तिमान बनाएका थिए। प्रधानले स्वर्ण जित्दा बागमतिका रिभान्त बहादुर श्रेष्ठले १ मिनेट ०४.०० सेकेन्ड सहित रजत र आर्मीका जाडेन श्रेष्ठले १ मिनेट ०४.०३ सेकेन्ड सहित कास्य पदक हासिल गरे।
त्यस्तै नेपाल पुलिस क्लबको टिमले पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ। यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमानलाई बुधबार पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भंग गर्दै ८ मिनेट ३२. १३ सेकेन्डको नयाँ कीर्तिमान बनाउन सफल भएका छन्।
प्रतियोगिता अन्तर्गत महिला ५० मिटर बटरफ्लाईमा एनआरएन मिखा काया थापाले स्वर्ण पदक (३०.७८ सेकेन्ड), पुलिसकी देभान्सीले रजत (३२.८८सेकेन्ड) र बागमतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले ३३.५६ सेकेन्डमा पुरा गर्दै संयुक्त रुपमा कास्य पदक हासिल गरे। ५० मिटर पुरुष बटरफ्लाईमा बागमतिका अभिव प्रधानले स्वर्ण(२६.०७सेकेन्ड), पुलिसका इर्भिनले रजत (२७.१४ सेकेन्ड), आर्मीका खेलाडीद्धय सौरेन बहादुर सिंह र असिम भण्डारीले २७.३२ सेकेन्ड समय खर्चेर कास्य पदक जिते।
२०० मिटर महिला फ्रिस्टायलमा एनआरएन लिलीले स्वर्ण (२ मिनेट १४.०३सेकेन्ड), आर्मीकी डुअना रजत (२ मिनेट १४.४२ सेकेन्ड) र एनआरएन मिखाले कास्य (२ मिनेट १९.६८ सेकेन्ड) पदक जितिन्। २०० मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिनले (१ मिनेट ५९.४८सेकेन्ड) स्वर्ण, पुलिसकै काल्किनले रजत (२मिनेट ००.८३ सेकेन्ड) र आर्मीका अल्भिनले कास्य(२मिनेट ०५.००सेकेन्ड) पदक हासिल गरे।
१०० मिटर महिला ब्याकस्ट्रोकमा बागमतिकी आर्या महर्जनले स्वर्ण (१ मिनेट ११.९५सेकेन्ड), एनआरएन मिखाले रजत (१ मिनेट १३.६२सेकेन्ड) र बागमतिकी रोयल प्रजापतिले कास्य (१ मिनेट १४.४३सेकेन्ड) कास्य हासिल गरिन्। ४ गुणा १०० मिटर महिला मिड्ले रिलेमा बागमतिले स्वर्ण (५ मिनेट ०५.६९सेकेन्ड), पुलिसले रजत (५ मिनेट ११.७१ सेकेन्ड) र आर्मीले कास्य (५ मिनेट १५.८५ सेकेन्ड) पदक हासिल गरेको छ।
बुधबारको अन्तिम इभेन्ट मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतिले स्वर्ण (२ मिनेट ०२.४६ सेकेन्ड) आर्मीले रजत (२ मिनेट ०४.११ सेकेन्ड) र पुलिसले कास्य पदक (२ मिनेट ०७.०८ सेकेन्ड) हासिल गरेको छ। प्रतियोगिताको दोस्रो दिन सम्म आइपुग्दा अंक तालिकामा बागमति ९ स्वर्ण, ४ रजत, ६ कास्य गरी कुल १९ पदक सहित शिर्ष स्थानमा छ भने एनआरएन टिम ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदक सहित दोस्रो र पुलिस ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदक सहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कास्य पदक, पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले १ स्वर्ण, २ रजत गरी कुल ३ पदक र कोशी प्रदेश १ स्वर्ण सहित तालिकाको छैठौ स्थानमा रहेको छ।
प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्म आइपुग्दा ६ वटा इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ। प्रतियोगिताको पहिलो दिन पुरुष तर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफनै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए। त्यस्तै महिला तर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी थिइन्।
