काठमाडौँ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत एलिमिनेटरको खेलमा चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो।
कर्णालीका लागि ब्याटिङतर्फ ओपन जयकिसन कोल्सावाला र विलियम बोसिस्टाले अर्धशतकीय पारी खेले। ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरेका कोल्सावाला ५३ रनमा आउट भए।
विलियम बोसिस्टाले ५२ रन बनाउँदा, चार्डविक वाल्टन २३ बलमा ४६ रनमा अविजित रहे।
ओपनर रित गौतम र गुलसन झा शून्य रनमा आउट भए भने जिसन मक्सुदले १४ रनको योग्दान गरे। यस्तै, देव खनाल तीन रनमा आउट भए।
यता, बलिङतर्फ चितवनका लागि सोहेल तनबिरले दुई विकेट लिँदा शरद भेषवाकर, कप्तान कुशल मल्ल, रबि बोपाराले समान एक एक विकेट हात पारे।
यस खेलको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ।