काठमाडौं । सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई मंगलबार नगदसहित सम्मान गरेको छ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा दुवैलाई सम्मान गरिएको हो।
उनीहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुंगानाले दोसल्ला ओढ्याउनुका साथै नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे।
एरिकाले आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा छ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन्। विश्व च्याम्पियनसिप बाहेक एरिकाले पाँच अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य गरी ८ पदक जितेकी छन्। सबै प्रतियोगितामा पदक जित्दा कुशलनै एरिकाको प्रशिक्षक थिए।
कुशल दसौं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले विद्यालयले खेलकुद गतिविधिलाई प्राथमिकता दिएकोमा खुशी व्यक्त गर्दै खेल क्षेत्र अन्तर्राष्ट्रिय जगतमा राष्ट्रलाई पहिचान गराउन सक्ने महत्वपूर्ण माध्यम भएको बताए।
संस्थापक प्रिन्सिपल ढुंगानाले विस्तारै नेपालमा पनि खेलकुदमै लागेर जीवीकोपार्जन गर्न सक्ने अवस्था बन्दै गएको धारणा व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासंगै अत्तिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएको बताए ।वार्षिक खेलकुद दिवसका अवसरमा फुटबल, कराते, क्रिकेट, जिम्न्याष्टिक, टग अफ वारलगायत विविध गतिविधि भएको थियो।