बाँके, नेपालगन्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा हुने मेयर कप पुरुष फुटबल प्रतियोगिता माघ महिनामा हुने भएको छ।
नेपालगन्जमा रंगशालामा आयोजना गरिने प्रतियोगिता माघ ५ गते देखि आयोजना गर्ने निर्णय भएको आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा बसेको बैठकले माघ महिनामा जिल्ला स्तरीय मेयर कप फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको हो।
प्रतियोगिताको तयारी सुरु भैसकेको अध्यक्ष शाहीले बताए। यसपटक महिला र पुरुष मेयर कप फुटबल प्रतियोगिता छुटा–छुटै मितिमा आयोजना गर्न लागिएको उनले जानकारी दिए।
अध्यक्ष शाहीले भने,‘बाँके जिल्लाभरीको विद्यालयहरुको सहभागिता हुने भएकोले मेयर प्रतियोगितामा पुरुष र महिलाको फरक–फरक मितिमा गर्ने निर्णय गरेका छौं। यसले व्यवस्थापनमा पनि सहज हुने र प्रतियोगिताबाट प्रतिभावान खेलाडी छनोटमा सहयोग पुग्नेछ।’
बाँके जिल्ला फुटबल संघले दुई दशकदेखि आयोजना गर्दै आएको प्रतियोगिता हो मेयर कप। मेयर कप फुटबलमा बाँके जिल्लाका ८ स्थानीय तहका निजी तथा सामुदायिक विद्यालयहरुको सहभागिता हुने गरेको छ।
विद्यालय स्तरको प्रतियोगिताले नयाँ खेलाडीलाई अवसर प्रदान गर्ने अध्यक्ष शाहीले बताए। बाँके जिल्ला फुटबल विकासमा प्रतियोगिता महत्वपुर्ण भएको बताउँदै शाहीले भने,‘बाँके जिल्लाको लागि मेयर कप एउटा महत्वपुर्ण प्रतियोगिता हो। यसले विद्यालयस्तरका खेलाडीलाई प्रतिभा देखाउने अवसर प्रदान गर्छ। यस प्रतियोगिताबाट बाँके जिल्लाको विद्यालय स्तरको टिम पनि तयारी गरिने भएकोले मेयर कप हाम्रो लागि महत्वपुर्ण छ।’
मेयर कप फुटबल प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोट गरेर अन्य जिल्लासँग मैत्रीपुर्ण खेल खेल्ने संघको योजना रहेको छ। गत वर्ष बाँके जिल्लामा भएको मेयर कपको उत्कृष्ट खेलाडीहरुले कैलालीसँग मैत्रीपुर्ण खेल खेलेको थियो। मेयर कप फुटबल प्रतियोगितामा करिब ५० विद्यालयको सहभागिता रहने संघले अनुमान गरेको अध्यक्ष शाहीले बताए।
