पदक विजेता खेलाडीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल तथा एसियाली कराँते र काभाबीच भलिबल खेलमा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई सम्मान र पुरस्कार प्रदान गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयद्वारा मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद्को गत मङ्सिर २८ गतेको निर्णयबमोजिम तोकिएको मापदण्डका आधारमा पुस्कार प्रदान गरिएको हो।

गत कात्तिक १ गतेदेखि १४ गतेसम्म काठमाडौँमा भएको साफ वुमन च्याम्पियनसिप, फुटबलमा पदक विजेता अमृता जैसीलगायत अन्य खेलाडी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवानलगायत तथा चीनको हाइजाओमा गत असोज १ गतेदेखि ७ गतेसम्म भएको बीसौँ एसियाली कराँते च्याप्यियनसिफमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलगायतलाई पुरस्कार प्रदान गरिएको छ।

यस्तै गत साउन १७ गतेदेखि २० गतेसम्म भूटानको थिम्पुमा भएको काभाबीच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले विजेतालाई बधाई दिँदै हिम्मत लियो भने खेल जित्न सकिन्छ भन्ने उच्च मनोबल लिएर प्रतियोगितामा लाग्न आग्रह गर्दै खेलमा टिम स्पिरिट र कम्बिनेसन महत्वपूर्ण हुने बताए। उनले नेपाली खेलको सर्वत्र उन्नति र प्रगति होस् भन्ने आग्रह गर्दै त्यसका लागि लाग्न आग्रह गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको