पेरिस ओलम्पिक खेलेका खेलाडीलाई नेपाल ओलम्पियन संघ (एनओए) ले शुक्रवार स्वागत गरेको छ।
एनओएका अध्यक्ष दीपक बिष्टसहित केन्द्रिय समितिका पदाधिकारी र सदस्यले उनीहरूलाई स्वागत गरेका थिए। नेपाली ओलम्पियन एनओएको स्वतः सदस्य हुनेछन्। पेरिस ओलम्पिकमा नेपालका ७ खेलाडीले भाग लिएका थिए।
छनोट चरण पार गरेका टेबलटेनिसका स्यान्टु श्रेष्ठसहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ प्रधान, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल तथा पौडीका एलेक्जेन्डर शाह र डुवाना लामाले पेरिस ओलम्पिक खेलेका थिए।
देशबाहिर रहेका स्यान्टु र एलेक्जेन्डरबाहेक सबैको स्वागत कार्यक्रममा उपस्थिति थियो। सन्तोषीले देशलाई प्रतिनिधित्व गर्दै ओलम्पिक परिवार सदस्य बन्दा गर्व लागेको सुनाइन्। एनओएका अध्यक्ष बिष्टले ओलम्पिक परिवारमा स्वागत गर्दै भविष्यमा समाजप्रतिको आफ्नो दायित्व पूरा गर्नुपर्ने जोड दिए । नयाँ ओलम्पियनको ओएलवाईको प्रमाणपत्रका लागि प्रक्रिया अघि बढाइने पनि बिष्टले जानकारी दिए।


