काठमाडाैँ । खो-खो विश्वकपमा उपविजेता नेपाली टिमलाई नेपाल कबड्डी लिग (एनकेएल)ले सम्मान गरेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार काठमाडौं लेकर्स र हिमालयन रेडर्सचको खेलपछि कबड्डी कोटमा खादा लगाएर सम्मान गरेको हो।
खो-खो विश्वकपमा उपविजेता नेपाली टिमका महिला र पुरुष दुवै टिमका खेलाडीहरुलाई नेपाल कबड्डी लिगका चेयर म्यान अमित बेगानी, खो-खो संघका अध्यक्ष प्रदिप महर्जनलगायताकाे टिमले खादा लगाएर सम्मान गरेको हो।
यस्तै, सम्मानपछि एनकेएलका चेयर म्यान अमित बेगानीले एउटा खेलले अर्को खेललाई सम्मान गर्नुपर्छ भन्ने मान्यता अनुसार सम्मान गरेको बताए।
भारतको नयाँ दिल्लीमा गत पुस २९ देखि माघ ६ गतेसम्म भएको विश्व कपमा नेपाली पुरुष÷महिला दुवै टोलीले रजत जितेका थिए। इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा आइतबार भएको दुवै समूहको फाइनलमा नेपाल भारतसंग पराजित भएको थियो । पुरुषमा २० तथा महिलामा १९ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए।
पुरुषको समूह ‘ए’ मा नेपालसहित ५ राष्ट्र थिए। समूह चरणमा पनि नेपाल भारतसंग मात्र ४२–३७ ले पराजित भएको थियो। अन्य खेलमा नेपालले पेरुलाई ८०–३४, ब्राजिललाई १३४–८ र भुटानलाई ९८–८ ले पराजित गर्दै समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगेको थियो। नेपालले क्वाटरफाइनलमा बंगलादेशलाई ६७–१८ र सेमिफाइनलमा इरानलाई ७२–२० ले हराएको थियो । फाइनलमा नेपाल भारतसंग ५४–३६ ले चुक्यो।
महिलामा समूह ‘सी’ मा रहेको नेपाल अपराजित रहँदै फाइनलसम्म पुग्न सफल भएको थियो। समूह विजेता हुँदै क्वाटरफाइनल पुग्ने क्रममा नेपालले जर्मनीलाई ७४–३४, भुटानलाई ८३–२४, श्रीलंकालाई ११०–१० र बंगलादेशलाई ८३–२४ ले पन्छाएको थियो। नेपालले क्वाटरफाइनलमा इरानलाई १०३–८ र सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले पाखा लगाएको थियो। भारत विरुद्धको उपाधि भिडन्तमा नेपाल ७८–४० ले पछि प¥यो।


