दोस्रो ई–स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ । ई–स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा च्याम्पियनसिप हुन लागेको हो।
च्याम्पियनसिपका विभिन्न ६ विधाका लागि ११ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराएको संघले जनाएको छ । च्याम्पियनसिपमा पब्जी मोबाइल, ई–फुटबल, मोबाइल लिजेन्ड्स, डोटा टु, भ्यालोरेन्ट र कस प्ले गरी ६ विधामा प्रतिस्पर्धा गराइनेछ ।
ई– फुटबलमा दुई हजार ५ सय १९ जनाले नाम दर्ता गराएका छन् । यसै गरी पब्जी मोबाइलमा एक हजार ३९ टिम, मोबाइल लिजेन्ड्समा २८१ टिम, भारोलेरेन्टमा ६६ टिम, डोटा टु मा ५८ टिमले नाम दर्ता गराएका छन् । कसप्ले विधामा भने अझै दर्ता खुल्ला नै राखिएको छ ।
नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले सबै विधामा गरेर ११ हजार पाँच सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएको बताए । त्यसमा टिमको रूपमा गणना गर्दा भने चार हजारभन्दा बढी टिम हुनेछ ।
च्याम्पियनसिपको क्वालिफायर राउन्डका खेलहरू माघ १४ देखि १८ गतेसम्म (जनवरी २७–३१) सम्म हुनेछ । यसै गरी समूह चरण र प्लेअफका खेलहरू माघ २० देखि फागुन २ गतेसम्म (फेब्रुअरी २–१४) सम्म हुनेछ । क्वालिफायर र प्लेअफका खेलहरू अनलाइनमा हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रूपमा (ल्यान इभेन्ट) हुनेछ ।
च्याम्पियनसिपको अन्तिम चरणको खेल आगामी फागुन ८ देखि १० गतेसम्म भौतिक रूपमै त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा आयोजना गरिने इशानले जनाएको छ । अन्तिम चरणमा पब्जीतर्फ १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । पब्जीमा हरेक टिममा चार जना मुख्य खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र एक म्यानेजर हुनेछन् ।
यसै गरी मोबाइल लिजेन्ड्समा दुई टिमले अन्तिम चरणमा प्रतिस्पर्धा छन् । यसमा हरेक टिममा पाँच जना खेलाडी हुनेछन् भने एक अतिरिक्त खेलाडी र एक म्यानेजर हुनेछन् । ई–फुटबलमा अन्तिम चरणमा ३२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसै गरी डोटा टु र भ्यालोरेन्टमा चार–चार टिमले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् । कस प्ले मा भने कुनै लिमिटेसन राखिएको छैन । उनीहरूले फेसन सो शैलीमा स्टेजमा डेमो देखाउनेछन् ।
च्याम्पियनसिपको कुल प्राइज पुल २५ लाख रहेको छ । जसबाट ६ विधाको विजेता तथा उपविजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ । हरेक इभेन्टको पुरस्कार राशि फरक हुनेछ । जसमा पब्जी मोबाइल सबैभन्दा चर्चित विधाको रूपमा छ र यसमा कूल १० लाख १० हजार पुरस्कार राशि राखिएको छ । जसमा विजेताले नगद दुई लाख ५० हजार पाउनेछन् । यस्तै दोस्रोले एक लाख ८० हजार तथा तेस्रोले एक लाख २० हजार पाउनेछन् भने अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने १६ वटै टिमले नगद पुरस्कार पाउनेछन् । यस विधामा एमभीपीले पनि नगद पुरस्कार पाउनेछन् ।
यस्तै मोबाइल लिजेन्ड्समा पाँच लाख २० हजार पुरस्कार राशि रहेको छ । जसमा विजेताले एक लाख ८२ हजार हात पार्नेछन् भने उपविजेताले एक लाख चार हजार पाउनेछन् । यसमा शीर्ष आठमा रहनेले नगद पुरस्कार प्राप्त गर्नेछन् । यस विधामा पनि एमभीपीले नगद पुरस्कार पाउनेछन् ।
भ्यालोरेन्टमा तीन लाख, ई–फुटबलमा दुई लाख १० हजार, डोटा टु मा दुई लाख र कस प्लेमा एक लाख ५० हजार पुरस्कार राशि रहेको आयोजकले जनाएको छ । भ्यालोरेन्ट र डोटा टु को विजेताले समान एक लाख पाँच हजार हात पार्नेछन् भने ई–फुटबलमा विजेताले ९० हजार र कस प्ले विजेताले ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । भ्यालोरेन्ट र डोटा टु मा पनि शीर्ष आठमा रहनेले नगद पुरस्कार पाउनेछन् भने ई–फुटबल र कसप्लेमामा शीर्ष चारमा रहनेले नगद पुरस्कार पाउनेछन् । मोस्ट पपुलर कसप्लेअरले पनि नगद पुरस्कार पाउनेछन् ।
पछिल्लो समय नेपालमा ई–स्पोर्ट्स खेलको गतिविधि बढिरहेको र नेसनल च्याम्पियनसिपको दोस्रो संस्करणमै ठूलो माहोल बनेको इशानका अध्यक्ष अञ्जन धमलाले बताए । अन्तिम चरणको खेललाई रोमाञ्चक र आकर्षक तरिकाले आयोजना गर्ने तयारी भइरहेको नेपाल प्लेजका एमडी उज्जेनलालले जानकारी दिए।


