काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा काठमाडौँमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज पहिलो सेमिफाइनल खेल हुँदै छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५:३० बजे सुरु हुने सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन्।
संकटाले उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। यता, मच्छिन्द्र फुटबल क्लबले आफ्नो पहिलो खेलमा विभागीय क्लब एपीएफमाथि १–० को कठिन जित दर्ता गरेको थियो।
दोस्रो सेमिफाइनलमा भने नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती आयोजकको तर्फबाट) र न्यु रोड टिम एनआरटी भिड्ने छन्। दोस्रो सेमिफाइनल मंगलवार हुने छ।
सर्वाधिक पुरस्कार राशिको नेपाली काँग्रेसका सभापतिको नाममा सञ्चालित नकआउट प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ पाउने छ भने उप विजेता टोलीले १३ लाखमा चित्त बुझाउने छ। प्रतियोगितामा प्रत्येक खेल खेल्ने दुवै टोलीले नगद ५० हजार पाइरहेका छन् भने प्लेयर अफ दी म्याचले १५ हजार पाएका छन्।
