काठमाडौं: बक्स अफिस इन्टरनेशनल ग्रुपले माघ २५ र २६ गते मा ओपन च्यालेन्ज फिल्म फुटबल कप, सेभेन -ए साइड फुटसल टूर्नामेन्ट आयोजना गर्ने भएको छ।
बिहीबार त्रिपुरेश्वरमा पत्रकार सम्मेलनको आयोजना गर्दै बक्स अफिसका अध्यक्ष आरके सुबेदीले टूर्नामेन्टमा ४६ टिमले सहभागिता जनाउने जानकारी दिए। प्रत्येक वर्ष हुदै आएको यो प्रतियोगिता यस वर्ष फिल्म फेयर अवार्डको प्रवर्द्धन अभियानको रूपमा आयोजना गरिएको हो। यस वर्ष फिल्म फेयर अवार्ड फागुन २८ गते हुनेछ।
सुबेदीका अनुसार यस खुला प्रतियोगिता जुनसुकै टोलीले सहभागिता जनाउन सक्नेछ र नकआउट ढाँचामा खेलाइनेछ। प्रतियोगिता महांकाल, बौद्धस्थित एलिट फुटसलमा आयोजना हुनेछ। कार्यक्रममा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र फेयर प्ले टिम लगायत १४ वटा व्यक्तिगत पुरस्कार वितरण गरिनेछ। विजेताले रु १,०१,१०० र उपविजेताले रु ५१,५५० प्राप्त गर्नेछन्।
कार्यक्रमको अनुमानित लागत रु ५,००,००० रहेको छ। प्रतियोगिताका दौरान फिल्म फेयर अवार्ड ३२ मनोनयनमध्येबाट उत्कृष्ट पाँच मनोनीतलाई पनि टूर्नामेन्टको समापन समारोहमा सम्मान गरिनेछ। यसैबीच, पोखरामा हालै सम्पन्न भएको सर्ट फिल्म फेस्टिवल विजेताहरूलाई पनि टूर्नामेन्टकै दौरान ट्रफी प्रदान गरिनेछ।
तपाईको प्रतिक्रिया !!!
