काठमाडौं । नेपालकी फरवार्ड रेखा पौडेलले एएफसी महिला च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेकी छन्।गत महिना युएईको शीर्ष महिला लिग क्लब अबुधाबी काउन्ट्री क्लबमा आबद्ध भएकी रेखाले डेब्यु खेलमै गोल गरेकी हुन्। योसँगै रेखा एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।
आइतबार भएको समूहचरणको पहिलो खेलमा अबुधाबीले लाओसको योङ एलिफेन्ट्ससमाथि २–१ को जित निकाल्यो।उनले आफ्नो टोली अबुधाबी कन्ट्री क्लबका लागि ४६औं मिनेटमा दोस्रो गोल गरिन्। जितसँगै समूह ‘ए’ मा रहेको अबुधाबीले तीन अंक जोडेको छ। अबुधाबीले अब म्यानमारको म्यावाडी एफसीसँग २८ अगस्ट र साउदी अरबको अल नासर एफसीसँग ३१ अगस्टमा खेल्ने छ।
आइतबार नै भएको समूह ‘सी’ को पहिलो खेलमा विभागीय टोली एपिएफ क्लब उज्वेकिस्तानको पिएफसी नासाफसँग एपिएफ १–० ले पराजित भएको थियो।एसियाली फुटबल महासंघ (एएफसी)ले नयाँ स्वरूपमा पहिलोपल्ट महिला च्याम्पियन्स लिग आयोजना गरेको हो। समूह ‘सी’ रहेको एपिएफले दोस्रो खेल घरेलु टोली सवा एफएसँग खेल्नेछ।


