काठमाडौं । गोदावरी नगरपालिकाव्यापी अन्तर विद्यालय ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता यही माघ २२ र २३ गते हुने भएको छ।
आयोजक श्री ज्ञान कुण्ड युवा क्लब, लेलेले आइतबार टाइसिट ड्र कार्यक्रम र पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी गराएको हो।
प्रतियोगितामा गोदावरी नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्नेछन्। यी १७ विद्यालयलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘बी’मा पाँच टोली छन् भने समूह ‘ए’, ‘सी’ र ‘डी’मा चार चार टोली रहेका छन्। लिग कम नकआउट पद्धत्तिमा खेलाइने प्रतियोगितामा समूहका शीर्ष दुई टोलीले अन्तिम आठमा स्थान बनाउने छन्।
कार्यक्रममा वडा नं ५, लेलेका अध्यक्ष एवम् नगर प्रवक्ता मिलन सिलवाल, संकटा क्लबका पूर्व खेलाडी दीपक श्रेष्ठ, ज्ञानकुण्ड युवा क्लबका कार्यबहाक अध्यक्ष एवम् प्रतियोगितका संयोजक निकेश श्रेष्ठ साथै क्लबका सिनियर खेलाडी एवम् कप्तान बिक्की महर्जनको उपस्थिति थियो।
प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही ५ हजार पाउने छन्।
प्रतियोगिताका सबै खेल विनायक स्पोर्टस कम्प्लेक्स ढोलाहिटीमा हुने छ।
