ललितपुर । लेलेको अमरकान्ति माध्यमीक विद्यालय, बाँडेगाउँको बुद्ध मावि र चापागाउँको साँग्रीला इन्टरनेसनल स्कूल दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेका छन्।
ढोलाहिटीस्थित विनायक स्पाेर्ट्स कम्प्लेक्समा मंगलबारबाट सुरु प्रतियोगितामा समूह सिबाट दुई खेल जित्दै अमरकान्तिले अन्तिम आठमा स्थान बनायो। अमरकान्तिले बज्र एकेडेमीलाई २–० ले तथा बालअंकुरलाई २–१ ले पाखा लगाएको छ। यो समूहको बज्र एकेडेमी दुबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ।
मंगलबारको अन्तिम खेलमा रिदभान स्कूल र बालअंकुर माविले २–२ गोलको बराबरी खेल्दै क्बार्टरफाइनलको संभावना दुबैले कायमै राखेका छन्। समूह डि बाट बुद्ध मावि बाँडेगाउँले गंगा जमुना स्कूल लेलेलाई १–० ले तथा भिमसेन स्कूल देवीचौरलाई २–१ ले हराएको छ। बुद्ध मावि गत संस्करणको विजेता टोली हो। यो समूहबाट लिटिल स्टार लगातार दुई खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ भने भिमसेन र गंगा जमुना मध्ये एउटा स्कूल अर्को चरणमा पुग्नेछन्। ५ वटा विद्यालय रहेको समूह बि बाट साँग्रीला स्कूलले लगातार दुई खेल जित्दै अन्तिम आठमा पुगेको छ। साँग्रिलाले टीकाभैरबको बुद्ध माबिलाई ४–१ ले तथा लेलेको सरस्वती माविलाई ३–० ले हराएको छ।
सांग्रिलाका सविन चेपाङले प्रतियोगितामा ४ गोल गरिसकेका छन्। यो समूहमा बशिष्ठ माविले नेवा स्कूललाई २–१ ले हराउँदा बुद्ध माविले बशिष्ठलाई हराएको छ। यसैगरी नेवा स्कुल र सरस्वती स्कूलले ३–३ खेलको बराबरी खेलेका छन्। समूह ए बाट एभेरेष्ट इंगलिस स्कूलले पनि क्बार्टरफाइनलमा स्थान बनाएको छ। एभरेष्टले इन्द्रेणी स्कूल र सूर्य शिक्षा सदनलाई हराएको हो। इन्द्रेणीले भने टीकाभैरब बोर्डिङ स्कूलसँग बराबरी खेल्दा टीकाभैरबले सूर्य शिक्षालाई १–० ले निराश पारिदिएको छ। दुबै खेल हार्दै सूर्य शिक्षा सदन प्रतियोगिताबाट बाहिरिएको छ। इन्द्रेणी र टीकाभैरब मध्ये एक स्कूलको अर्को चरणमा जाने संभावना कायमै छ।
नगरपालिकाभित्रका १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको गोदावरी नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिल्वालले गरे। लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने ज्ञानकुण्ड युवा क्लबका कार्यबहाक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले बताए। उनका अनुसार बुधबार समूह चरणका बाँकी खेल र क्बार्टरफाइनलका खेलहरु हुनेछन्।
प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ। यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही ५ हजार पाउने छन्। त्यस्तै प्रतियोगिताको उद्घाटनका बेला उत्कृष्ट मार्चपास गर्ने टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक श्रेष्ठले बताए। यसअघिको प्रथम गोदावरी नगरपालिका अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधी बुद्ध मावि बाडेगाउँले गंगा जमुना मावि लेलेलाई २–१ ले हराउँदै जितेको थियो। अघिल्लो संस्करणमा नगरभित्रका ३३ वटा स्कूलले सहभागिता जनाएका थिए।
तपाईको प्रतिक्रिया !!!
