अर्जुन ट्रफी : झापाको पहिलो जित हात

काठमाडौं। अभिषेक कार्कीको अलराउन्ड प्रदर्शनसँगै बोस्टन क्रिकेट झापाले अर्जुन ट्रफीमा पहिलो जित हात पारेको छ। बुधबार सम्पन्न खेलमा झापाले घोडाघोडी ११ माथि एक रनको रोमाञ्चक जित निकालेको हो।

योसँगै समूह ‘ए’ मा झापाले दुई अंक जोडेको छ। यसअघि फ्रेन्ड्स युथ क्लब डडेलधुराले झापालाई पाँच रनले पराजित गरेको थियो। घोडाघोडी ११ को भने यो पहिलो जित हो।

झापाले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याएको घोडाघोडीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६० रन बनायो।

घोडाघोडीका ओपनर दिनेश रावतले सर्वाधिक ६४ रन बनाए। ४० बल खेली उनले चार चौका र पाँच छक्का प्रहार गरे। आयुब चन्द २४, दीपक टमटा १९ र कप्तान शेर मल्ल १० रनमा आउट भए।

झापाका अभिषेक कार्कीले सर्वाधिक तीन विकेट गुमाए। चार ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। अरुण ऐरी र रमेश भट्टले समान एक विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ थालेको झापाले ६ विकेट गुमाउँदै १६१ रनको योगफल तयार पारेको थियो। झापाका रोशन साहले सर्वाधिक ४१ रन बनाए। १५ बल खेली उनले एक चौका र पाँच छक्का प्रहार गरे।

रोशन बिक ३७ र दीपु भुजेल १४ रनमा आउट हुँदा पवन कार्की २० र अभिषेक कार्की ३७ रनमा अविजित रहे।

घोडाघोडीका शेर मल्लले सर्वाधिक दुई विकेट लिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको