नेपालगन्ज । मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता २०८१ शनिबार देखी नेपालगन्जमा सुरु हुँदैछ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभिर्यस स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्दैछन्। नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको छात्र तर्फ २१ विद्यालयको सहभागिता रहेको छ।
प्रतियोगिताको समुहमा ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि राझाँ, ब्राइटल्याण्ड मावि, ड्रिमल्याण्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल रहेका छन्।
समुह ‘बी’ मा आदर्श मावि राझाँ, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रीनपीस, आर्दश मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगल प्रसाद मावि, युनाईटेड र नेपालगन्ज मोडेल एकेडेमी रहेका छन्। प्रतियोगिताको छात्र तर्फको फाइनल खेल फागुन ३ गते हुनेछ।
आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताए। प्रतियोगिताले विद्यालय स्तरबाट नयाँ खेलाडी उत्पादनमा सहयोग गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए।
छात्रा तर्फको फुटबल प्रतियोगितालाई नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा स्थानीय टिमको लागि खेलाडी छनोटको रुपमा पनि लिइएको आयोजकले बताएको छ। प्रतियोगिताका दौरान उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट चरणमा सहभागि गराउने तयारी रहेको संघले बताएको छ।
मेयर कप फुटबल प्रतियोगिताले बाँकेमा हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गरिरहेको संघका अध्यक्ष भोजराज शाहीले बताए। उनले भने,‘मेयर कप भनेको विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने प्रतियोगिता हो। यसले खेलाडीहरुलाई विद्यालय स्तरबाटै उच्च स्तरको प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको हुन्छ।
यस प्रतियोगिताबाट राम्रो खेल्ने खेलाडीले भविष्यमा व्यवसायिक फुटबलरको रुपमा आफुलाई अगाडी बढाउन सक्छन्।’ विद्यालय स्तरको खेलाडीलाई प्राथमिकतामा राखेका कारण १८ वर्ष सम्मका खेलाडीले मात्र खेल्न पाउने आयोजकले नियम बनाएको छ। गत वर्ष मेयर कप फुटबल प्रतियोगिताको छात्र तर्फ नेपालगन्ज सेन्ट जेभियर्स र छात्रा तर्फ नेपालगन्ज मोडेल एकेडेमी टिम च्याम्पियन बनेको थियो।
