काठमाडौँ । आहा!रारा पोखरा गोल्डकपले २५०औँ खेलको कोशेढुंगा पूरा गर्दैछ।
पोखरा रंगशालामा यति बेला २४औँ संस्करणको आहा रारा गोल्डकप जारी छ।
आज (बुधबार) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने पहिलो सेमिफाइनल खेल आहा रारा गोल्डकपको २५०औँ खेल हुनेछ। याे खेल दिउँसाे २:३० बजेबाट सुरु हुनेछ।
पुलिस क्लबले क्वार्टरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो। पुलिस क्लबले पहिलो खेलमा आयोजक सहारा क्लबलाई १–० ले हराएको थियो।
यता, चर्च ब्वाइजले क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। प्रि–क्वाटरफाइनलमा भने एनआरटीलाई सडनडेथमा हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो।
फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
विसं २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट सुरु भएको प्रतियोगिता दोस्रो संस्करण आहा त्यसको केहिपछि आहा रारा र पछिल्लो संस्करणबाट आहा रारा पोखरा गोल्डकपका नाममा परिचित छ।
सुरुवाती संस्करण मात्र क्याराभानको नामले भएको प्रतियोगितामा आहा राराको सहकार्य भएको २३औं वर्ष पूरा भएको छ।
