आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा

बागमती । चर्च व्वाइज युनाइटेड सातौं संस्करणको बागमती गोल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेको छ।

बागमती–४ स्थित सहिद स्मृति रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। चर्च व्वाइज प्रतियोगितामा नयाँ टोली हो। चर्च व्वाइजको लागि टाइब्रेकरमा विदेशी खेलाडी, अर्मान विडम, सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे।

यस्तै आर्मीका लागि विमल पाण्डे,फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले रोके। खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए।

उनले १० हजार रुपैयाँ प्राप्त गरे। उनलाई बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणीन्द्र तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतले ट्रफी र नगद प्रदान गरे।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको