केपी ओली कप : उद्घाटन खेलमा एपिएफ र ब्ल्याक बुल्स भिड्ने

काठमाडौं। तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र ब्ल्याक बुल्स फुटबल क्लब भिड्ने भएका छन्।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ देखि १९ गतेसम्म हुन लागेको प्रतियोगितामा दुई विदेशीसहित ९ क्लब सहभागी हुने छन्।

पहिलो खेलमा एपिएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई चुनौती प्रस्तुत गर्नेछ। ब्ल्याक बुल्सले २४औं आहा! रारा पोखरा गोल्डकप जितेको थियो।

यस्तै, १२ गते भन दुई खेल हुनेछ। पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने छन्। दोस्रो खेलमा न्युरोड टिम (एनआरटी) ले केपी ओली एफसीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग उपविजेता मच्छिन्द्र फुटबल क्लबसँगै एएपिएफ, पुलिस, त्रिभुवन आर्मी, एनआरटी र संकटा क्लबले सहभागिता जनाउने छन्। ब्ल्याक बुल्ससँगै भुटानको ट्रस्पोर्ट युनाइटेडले पनि प्रतियोगिता खेल्नेछन्।

प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइलका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ रूपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउने भएका छन्। प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्लेयर अफ द म्याचले १५ हजार रूपैयाँ पाउने भएका छन्। हरेक खेल जितेबापत पनि टोलीले २५ हजार रूपैया प्राप्त गर्ने युवा संघले जनाएको छ। 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको