एनएसएलको मिनि अक्सन आज, यी हुन् सहभागी सात टोलीको मार्की खेलाडी

काठमाडौं। तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबलमा सहभागी हुने सात टोलीको मार्की खेलाडी टुंगो लागेको छ।

शनिबार आज मिनि अक्सन हुँदैछ। सो अक्सनको एक दिनअगाबै सातै टोलीले मार्की खेलाडीको टुंगो लगाएका हुन्। यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै झापा एफसी, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले सहभागिताले जनाएका छन्।

अघिल्लो सिजनका वीरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीले भने यसपल्ट सहभागिता जनाउने भएका छन्। ललितपुरले नेपाली राष्ट्रिय टोलीका सेन्ट्रल ब्याक अनन्तलाई मार्की बनाएको छ।

अघिल्लो संस्करणमा पनि उनी लिलतपुरकै मार्की थिए। उनको कप्तानीमा ललितपुरले उपाधि जितेको थियो। उनी पहिलो संस्करण पनि ललितपुरमै थिए।

यस्तै, चितवनको मार्की खेलाडी फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडीको रुपमा सम्झौता गरेको छ। अघिल्लो संस्करणमा चितवनले गोलरक्षक विशाल श्रेष्ठलाई मार्की खेलाडी बनाएको थियो। उनले नै चितवनको कप्तानी आर्मब्यान्ड लगाएका थिए।

अञ्जन भने झापा एफसीको मार्की खेलाडी थिए। उनले नै कप्तानी जिम्मेवारी सम्हालेका थिए। अञ्जनको कप्तानीमा रहेको झापाले आठ खेलमा दुई जित र चार बराबरीसहित १० अंक जोड्दै पाँचौं स्थानमा रहेर लिग सक्काएको थियो।

अञ्जन चितवनमा आवद्ध भएसँगै झापाले लाकेन लिम्बूलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको छ। अघिल्लो संस्करण पनि उनी झापामै थिए।

२२ वर्षीय लाकेन हाल भारतीय आइ लिग क्लब दिल्ली एफसीमा आवद्ध छन्।

धनगढीले कृतिशरत्न छुन्जुलाई मार्की खेलाडीको रूपमा सम्झौता गरेको छ। २१ वर्षीय युवा अट्याकिङ मिडफिल्डर छुन्जुले पहिलो सिजन बुटबल लुम्बिनी एफसीबाट एनएसएल खेलेका थिए।

बुटवल लुम्बिनीमा विंगर मनिष डाँगीलाई मार्की खेलाडीका रूपमा भित्र्याएका छन्। बुटवलले भुटानी नागरिक पुष्षलाल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

पोखराको मार्की खेलाडीमा १९ वर्षीय सेन्ट्रल फरवार्ड समीर तामाङ अनुबन्धन भएका छन्। समीरको यो पहिलो व्यवसायिक प्रतियोगिता हो। नेपालले खेलेका विभिन्न उमेर समूहका प्रतियोगितामा उनले प्रतिनिधित्व गरिसकेका छन्।

पहिलो संस्करणको विजेता काठमाडौंले रोहन कार्कीलाई मार्की खेलाडी बनाइएको छ। २२ वर्षीय मिडफिल्डर रोहन आरसी ३२ का उत्पादन हुन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको