झापा-११ सेमिफाइनलमा

भद्रपुर । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

भद्रपुरस्थित मेची रंगशालामा शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा झापा ११ ले चर्च ब्वाइजलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। झापाले यसअघि पहिलो चरणमा मछिन्द्र एफसीलाई हराएको थियो।

पहिलो हाफ १–१ गोलको बराबरीमा टुंगिएको थियो। खेलको १४औँ मिनेटमा झापाका एरोन थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए। चर्च ब्वाइजका किपर कृसल मोक्तान अगाडि बढेको अवस्थामा थापाले मैदानको मध्य भागबाट लगेको बललाई जाली चुमाए।

४१औँ मिनेटमा चर्च ब्वाइजका विक्रम धिमालले गोल गर्दै खेललाई बराबरीमा ल्याए। झापाका प्रदिप बुढाथोकीले चर्चका सुजन डंगोललाई फाउल गरे। त्यसपछि एरिक विष्टको फ्रिकिक प्रहारलाई सदुपयोग गरी धिमालले गोल गरेका थिए।

७९औँ मिनेटमा झापाका कप्तान पेमा तामाङले टिमका लागि थप एक गोल गरे। चर्चका गोलकिपर मोक्तानले पञ्च गरेको बल किलियर नहुँदा तामाङले टिमलाई २–१ को अवस्थामा ल्याए।

खेलको प्लेयर अफ द म्याच झापा ११ का पेमा तामाङ भए। उनले नगद २१ हजार र ट्रफी पाए। खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा झापाका प्रशिक्षक अंगुरकुमार खड्गीले पछिल्लो समय एउटै टिमवर्कका कारण ए डिभिजन टिमसँग प्रतिस्पर्धा गर्न सहज भएको बताए। खेलाडीको उत्कृष्ट प्रदर्शनले लगातार दुई खेलमा जित हात पारेको बताउँदै उनले भने, ’खेलमा तलमाथि हुन्छ, रेफ्रीले पनि सोहीबमोजिम सही डिसिजन दिनुपर्छ।’

त्यस्तै, चर्च ब्वाइजका व्यवस्थापक सविन डाँगीले मोफलसमा प्रतियोगिता जुधेर समस्या आएको बताए। उनले क्लबको मुख्य टिम अहिले हेडौँटामा रहेकाले सबै खेलाडी यहाँ ल्याउन नसक्दा हार व्यहोर्नु परेको बताए। सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आइतबारको तेस्रो क्वार्टर फाइनल खेल न्यु रोड टिम ९एनआरटी० र बंगलादेशको काउरन बाजार प्रगति संघबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए।

गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए।प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ।

त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ। एकजना दर्शकले महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार टिभी, एयरपोर्ट होटलका तर्फबाट एकजना दर्शकले दुईजनाको डिनर र सुनचाँदी व्यवसायी संघ भद्रपुर शाखाको तर्फबाट दुईवटा चाँदीको सिक्का पाए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको