काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पेनिस ला लिगामा आइतबार जिरोनामाथि सहज जित निकालेको छ।
स्यान्टियागो बर्नाबेउमा घरेलु टोली रियलले जिरोनालाई २–० ले पराजित गरेको हो।
रियलको जितमा कप्तान लुका मोड्रिच र भिनिसियस जुनियरले गोल गरे।
खेलको ४१औं मिनेटमा मोड्रिचको गोलमार्फत रियलले अग्रता लिएको थियो। उनले रोड्रिगोको कर्नरलाई हेडमार्फत पोस्टको दिशा दिए।
निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा जुनियरले गोल गर्दै रियलको जित पक्का गरे।
जितसँगै २५ खेलमा ५४ अंक जोडेको रियल दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको बार्सिलोनासँग समान अंक भए पनि रियाल गोल अन्तरमा पछि परेको हो।
यता पराजित जिरोना समान खेलबाट ३१ अंकका साथ १२औं स्थानमा छ।
लिगअन्तर्गत आइतबारै सम्पन्न खेलमा रियाल बेटिसले गेटाफेलाई २–१, एथलेटिको क्लब बिल्वाओले भायाडोलिडलाई ७–१ र रियल सोसिडाडले लेगानेसलाई ३–० ले पराजित गरे।
