मेस्सी र स्वारेजको गोलमा मियामी अन्तिम–१६ मा

काठमाडौं । कप्तान लियोनल मेस्सी र लुईस स्वारेजको गोलप्रेरित इन्टर मियामीले कोन्काकाफ च्याम्पियन्स कपको अन्तिम–१६ मा प्रवेश गरेको छ।

चेज रंगशालामा बुधबार बिहान भएको प्रतियोगिताको दोस्रो लेगमा मियामीले स्पोर्टिङ केसीलााई ३–१ ले पराजित गरेको हो।

मियामीको जितमा मेस्सी र स्वारेजसँगै टाडेओ एलेन्डेले गोल गरे। पाहुना टिमका मेमो रोड्रिगेजले एक गोल फर्काएका थिए।

खेलको १९औँ मिनेटमा मेस्सीको गोलबाट मियामीले अग्रता बनाएको थियो। पहिलो हाफ इन्जुरी समयको पहिलो मिनेटमा एलेन्डेले गोल गरेपछि मियामीले अग्रता दोब्बर बनायो। यस्तै, पहिलो हाफ इन्जुरी समयको तेस्रो मिनेटमा स्वारेजले गोल गरेपछि मियामीले ३–० को अग्रता बनाएको थियो।

६३औँ मिनेटमा रोड्रिगेजले गोल फर्काए पनि स्पोर्टिङ केसीको हार टार्न सकेनन्।

यसअघि पहिलो लेगमा मियामीले स्पोर्टिङ केसीविरुद्ध १–० को जित निकालेको थियो। मियामीले क्वार्टरफाइनल प्रवेशका लागि काभालियर प्रतिस्पर्धा गर्नेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको