भद्रपुर । झापा ११ फुटबल क्लब भद्रपुर झापा गोल्डकपको फाइनल प्रवेश गरेको छ।
भद्रपुरस्थित मेची रङ्गशालामा बुधबार भएको अन्तिम सेमिफाइनलमा भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले हराउँदै उपाधिनजिक पुगेको हो।
९० मिनेटसम्म १–१ को बराबरीमा रहेको खेल इन्ज्युरी समयमा ३–१ अन्तरमा पुगेको थियो। घरेलु दर्शकको समर्थन रहेको झापा ११ ले खेलको ५५औँ मिनेटमा अग्रता बनाएको थियो।
एरोन थापाले २५ यार्डबाट प्रहार गरेको पावरफुल फ्रिकिक भुटानका गोलकिपर रुपक कोयाले पञ्च गर्न खोज्दा बलले जाली चुमेको थियो। भुटानका सुरज रसाइलीले एरोन थापालाई फाउल गर्दा झापाले फ्रिकिक पाएको थियो।
खेलको ८४ औँ मिनेटमा भुटानका सुरज रसाइलीले गोल फर्काउँदै खेल १–१ को बराबरीमा ल्याए। रसाइलीले मैदानको मध्य भागबाट लगेको बल दुईजना डिफेन्डरलाई बिट गर्दै जाली चुमाएका थिए।
खेलको प्लेयर अफ द म्याच झापा ११ का एरोन थापा भए। उनले नगद २१ हजार र ट्रफी पाए।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्ने अध्यक्ष दिपेश ढकालले बताए। प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने महासचिव जीवनकुमार श्रेष्ठले बताए।
