काठमाडौं,छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली आइतबार इरानको तेहरान प्रस्थान गरेको छ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे।
मानमति विष्टको कप्तानीमा रहेको टोलीको अन्य खेलाडीमा जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन्।
फागुन २० देखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी हुने छन् । सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।
अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा हरिना थापा र निर्णायकमा नितु गुरुङ रहेका छन्।
