आयोजक रेसिङ साहारा फाइनलमा

बाँके । तेस्रो संस्करणको मुख्यमन्त्री कोहलपुर गोल्डकपमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ ।

बुधबार प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब प्रतियोगितामा पहिलो पटक फाइनल प्रवेश गरेको हो ।

दोस्रो हाफको ४७ औं मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६ औं मिनेटमा प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौँ ओम प्रकाश चौधरीले बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्लानिङलाई ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । आयोजक कोहलपुर रेसिङ साहारा क्लबको यो दोस्रो जित हो । समूह चरणको पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई हराएको थियो ।

खेलको म्यान द म्याच कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । शेषलाई नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रसान्त विष्ट र कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले नगद्सहित ट्रफी हस्तान्तरण गरेका थिए ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो ।

घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिता फागुन २४ गतेसम्म चल्ने प्रतियोगिता संयोजक कर्ण बस्नेतले जानकारी दिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको