भारतीय फुटबल टोलीमा फर्किए सुनिल क्षेत्रि

काठमाडौं । पूर्व कप्तान सुनिल क्षेत्री अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको वर्ष दिन नपुग्दै भारतीय फुटबल टोली फर्केका छन् ।

गत जुनमा सन्न्यास लिएका सुनिललाई यसै महिनाको अन्तर्राष्ट्रिय ब्रेकका लागि भारतीय राष्ट्रिय टोलीमा समावेश गरिएको छ।

मुख्य प्रशिक्षक मानोलो मार्क्वेजले बिहीवार २६ सदस्यीय टोलीको घोषणा गरे, जसमा सुनिल परेका छन् । भारतले मार्च १९ मा माल्दिभ्सविरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ। त्यतिबेला सुनिल ४० वर्ष ७ महिना १६ दिनका हुनेछन्।

भारतीय टोली त्यसपछि मार्च २५ मा सिलङस्थित जवाहरलाल नेहरू स्टेडियममा बंगलादेशविरुद्ध एएफसी एसियन कप २०२७ छनोटको अन्तिम चरणको उद्घाटन खेल खेल्नेछ।

त्यो समूहमा हङकङ र सिंगापुर पनि छन्। भारतीय टोली अहिलेसम्म एसियन कपको समूह चरण पार गर्न सकेको छैन ।

प्रशिक्षक मार्क्वेजले भनेका छन् , ‘एसियन कपको छनोट हाम्रो लागि धेरै महत्त्वपूर्ण छ। यस प्रतियोगिताको महत्त्वलाई ध्यानमा राख्दै, मैले सुनिल क्षेत्रीसँग राष्ट्रिय टोलीलाई मजबुत बनाउन पुनरागमनको विषयमा छलफल गरे। उनले सहमति जनाए, त्यसैले हामीले उनलाई टोलीमा समावेश गरेका छौं।’

भारतबाट १ सय ५० खेल खेल्दै सुनिलले ९४ गोल गरेका छन् । पुरुष फुटबलमा देशका लागि सर्वाधिक गोल गोल गर्नेमा क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी, र इरानका अली दाइपछि सुनिल चौथो स्थानमा छन्।

सुनिल बेंगलुरु एफसी बाट भारतीय सुपर लिग खेलिरहेका छन्। उनले भारतका लागि अन्तिम खेल गत वर्ष जुन ६ मा फिफा विश्वकप छनोटमा कुवेतविरुद्ध साल्ट लेक स्टेडियम, कोलकातामा खेलेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको