काठमाडौँ । नेपाल पौडी संघद्धारा आयोजित आधारभूत पौडी प्रशिक्षक तालिम सम्पन्न भएको छ। सनिबार सातदोबाटो स्थित पौडी पोखरीको कार्यालयमा नेपाल सरकारको पुर्व स्वास्थ्यमन्त्री एवम् नेपाली काँग्रेसको केन्द्रिय सदस्य माेहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर तालिमको आयोजना गरेकोमा पौडी संघको प्रशंसा गरे। ‘अहिले देशको परिस्थिति जुन छ , त्यसलाई ध्यान दिएर पौडी संघले यो तालिम आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु ’ उनले भने ‘ आज हरेक गाउँमा पौडी पोखरीको अवश्यक छ। हरेक गाउँमा पौडी पाखरीको निर्माण गर्ने हो भने गाडी दुर्घटना भएर खोलामा खस्दा पनि मान्छे बाँचेर फर्कन्थे।’
प्रमुख अतिथि बस्नेतले पौडी संघको नव निर्वाचित टिमलाई उत्कृष्ट काम गरेर अगाडि बढ्न सुझाव दिँदै आफ्नो ठाउँबाट संघलाई आवश्यक सहयोग हरेक पाइलामा गर्ने प्रतिवद्धता जनाए।
कार्यक्रममा बोल्दै पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले नेपालमा पछिल्लो समय पौडी प्रशिक्षकको धैरै डिमाण्ड रहेको बताए। अध्यक्ष श्रेष्ठले पौडी पोखरी निर्माण गर्दा मापदण्ड पुरा नगरी बनाउने गर्दा पोखरीमै मान्छेको ज्यान गएको बताए। उनले भने ‘पछिल्लो दिन पौडी पोखरीमै मान्छेको ज्यान गइरहेको छ। जसको कारण भनेको पौडी पोखरी निमार्ण गर्दा नै मापदण्ड पुरा नगरी बनेकोले हो।’
सरकारले पोखरी निमार्ण गर्दा पौडी विज्ञको सुझाव लिएर निर्माण गर्नुपर्ने उनले बताए। उनले पौडी खेल मात्रै नभएर मान्छेको ज्यान जोगाउने कला पनि भएकोले यसलाई सरकारले छुट्टै निति बनाएर अगाडि बनाउनुपर्ने धारणा राखे।
त्यस्तै संघको महासचिव समेत रहेका तालिमको मुख्य प्रशिक्षक ईश्वरमान कार्कीले पौडी स्वस्थ रहन अत्यन्त आवश्यक रहेको बताए। उनले भने ‘मान्छेहरु स्वस्थ रहन व्यायाम गर्छन्, विभिन्न खेल खेल्छन्। अरु खेल खेल्दा हातखुट्टा भाँच्ने,चोटपटक लाग्ने गर्छ। तर, पौडी जानिसकेपछि त्यस्तो हुँदैन। यो सिक्दा पनि धेरै चोटपटक लाग्दैन।’ पौडी खेलबाट पनि नाम,दाम सँगै धेरै प्राप्त गर्न सक्ने दावि गरे।
भदौ १३ गतेबाट सुरु भएको पौडी प्रशिक्षक तालिममा ३० जनाको सहभागी रहेको संघको सचिव गंगालाल गोलेले जानकारी दिए। तालिममा सहभागी भएकाहरुलाई प्रमुख अतिथि बस्नेतले प्रमाणपत्र वितरण गरिको थियो।


