काठमाडौं । काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि फ्रान्सको उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका भिन्सेन्ट कोजिएलोलाई अनुबन्ध गरेको छ ।
भिन्सेन्ट बुधबार नेपाल आइपुगिसकेका छन् । उनलाई क्लबले स्वागत गरिसकेको छ । भिनसेन्ट काठमाडौंले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् । यसअघि काठमाडौं रेजर्सले सियरा लियोनका फरवार्ड मोहम्मद बुया तुरे, सेनेगलका गोलकिपर चेइख गुएय र सेनेगलकै विंगर अमादोउ डिओपलाई अनुबन्ध गरिसकेको छ ।
२९ वर्षीय मिडफिल्डर कोजिएलोले फ्रान्सको यू-१९, यू-२० र यू-२१ लेभलमा खेलिसकेका छन् । त्यस्तै फ्रेन्च लिग वान क्लब ओजिसी नाइस र जर्मन बुण्डेसलिगा क्लब एफसी कोल्नबाट खेलेका थिए । भिनसेन्ज कोजिएलोको आगमनले काठमाडौं रेजर्स टिम अझ बलियो बन्ने क्लबको विश्वास छ ।
