काठमाडौं । नेपाली महिला क्रिकेट टिम युगाण्डामा जारी टी–२० क्रिकेट सिरिजमा फाइनल दौडबाट बाहिरिएको छ।
आयोजक युगाण्डासँग बिहीबार ४० रनले पराजित हुँदै नेपाल फाइनल दौडबाट एक खेलअगावै बाहिरिएको हो।
आफ्नो पाँचौं खेलमा युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभरमा ५१ रनमै अलआउट भयो। नेपालका लागि कवित जोशीले १२ तथा कप्तान इन्दु बर्माले ११ रन जोडिन्। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।
त्यसअघि एन्टेबे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो।
उसका लागि रीता मुसमलीले ४८ बलमा सर्वाधिक ३८ रन बनाइन्। नेपालका लागि बलिङमा युवा स्पिनर रिया शर्माले उत्कृष्ट बलिङ गरिन्।
उनले ४ ओभरमा १६ रन दिएर महत्वपूर्ण दुई विकेट लिइन् । यस्तै, पूजा महतो, ईश्वरी विष्ट र रुबिना क्षेत्रीको नाममा १/१ विकेट रह्यो।