एसपीए सुदूरपश्चिम स्पाेर्ट्स अवार्डः प्रबद्र्धकमा जोडियो कैलाली उद्योग वाणिज्य संघ


धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई कैलाली उद्योग वाणिज्य संघले साथ दिएको छ। संघले अवार्डलाई प्रबद्र्धकका रुपमा साथ दिएको हो।

प्रबद्र्धक सम्बन्धी सम्झौतामा संघका अध्यक्ष पुष्पराज कुँवर र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका वरिष्ठ उपाध्यक्ष शंकर बोहराले हस्ताक्षर गरे।

सम्झौतापछि अध्यक्ष कुँवरले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताउँदै अवार्डको सफलताको शुभकामना दिए। यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धक र धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेका छन्। यस्तै अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए रहेको छ।

चैत ७ गते धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशाला र सीपी अस्पतालले पनि प्रायोजकका रुपमा साथ दिएको छ। पूर्वराष्ट्रिय खेलाडी बेनी खड्काले पनि अवार्डलाई सहयोग गरेका छन्। छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए। उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक गरिसकेको हो। सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको