बुटवल । विभागीय टोली एपिएफ क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले संकटा क्लबलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो। एपिएफको जितमा युवराज खड्काले गरेको गोल नै निर्णायक साबित भयो।
दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा केही उत्कृष्ट अवसर बुनेका थिए। तर, फिनिसिङमा चुक्दा गोल भने निकाल्न सकेनन्। त्यसपछि खेल बराबरी हुँदै टाइब्रेकरउन्मुख थियो। तर, थप गरिएको ६ मिनेटको इन्जुरी समयलाई युवराजले सफलतापूर्व सदुपयोग गर्दै खेल दोस्रोपल्ट टाइब्रेकरमा पुग्नबाट रोके।
उनले ९४औं मिनेटमा सुजन पुलामीसँग उत्कृष्ट तालमेल मिलाएका थिए। उनको सर्ट पासलाई सुजनले एक्लैले पेनाल्टी बक्सनजिक पुर्याएर लामो प्रहार गरेका थिए। तर, उक्त प्रहार संकटाका गोलकिपर विशाल केसीले सही जर्जमेन्ट गरे पनि बचाउन सकेनन्।
अनुभवमा कमी देखिएका विशालको हातबाट बल फुत्किएसँगै रिबाउन्डमा युवराजले गोल गरेका हुन्। योसँगै एपिएफको जित सुनिश्चित भयो। एपिएफले पहिलो क्वार्टरफाइनलमा आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
काठमाडौंमा सभापती कप जित्दै मोफसल ओर्लिएको संकटाले भने तेस्रो क्वार्टरफाइनलमा जर्जियन फुटबल क्लब, कालिम्पोङ भारतलाई ४–० ले हराउँदै एपिएफसँगको भेट पक्का गरेको थियो। तर, यो भेट संकटाका लागि सम्झनयोग्य रहेन र सेमिफाइनलबाट बाहिरियो। खेलको ‘प्लेयर अफ द म्याच’ युवराज नै घोषित भए र ११ हजार १११ रुपैयाँ हात पारे।
योसँगै एपिएफले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरिसकेको छ। अब एपिएफले उपाधिका लागि ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्ने पक्का भएको छ।
यी दुईबीचको दोस्रो सेमिफाइनल बिहीबार अपरान्ह्र ४ बजे हुने तय छ।
