आईएसएफ यु–१५ जिम्नासियाडका लागि टोली सर्बिया प्रस्थान

काठमाडाैँ । आईएसएफ यु–१५ जिम्नासियाड (जुनियर स्कुल समर गेम्स) मा सहभागी हुन तीन खेलका ९ खेलाडीसहित २२ सदस्यीय नेपाली टोली बिहीबार सर्बियाको ज्लाटिबोर प्रस्थान गरेको छ। टोली बिहीबार राती ११ः०० बजे उड्ने छ।

चैत २२ देखि बैशाख १ गतेसम्म हुने नेपालबाट थ्री बाइ थ्री बास्केटबल र पौडीमा समान ४–४ तथा बक्सिङमा १ खेलाडी सहभागी हुने छन्। बास्केटबलमा मन्दिप गुरागाईं, स्पर्श खतिवडा, सुशन हमाल र वर्दान मल्लले प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा प्रेमसुन्दर होना छन्। पौडीमा मायोन श्रेष्ठ, प्राप्ती पाण्डे, श्रयला महर्जन र कल्किन श्रेष्ठ छन्। प्रशिक्षकमा नवीन महर्जन रहेका छन्। बक्सिङमा रिजोन रुम्बा लामा भिड्ने छन्। प्रशिक्षकमा दोर्जे घले रहेका छन्।

अफिसियलमा सोविनराज रेग्मी, कमला निरौला, तिलक पाण्डे, विनोदराज पाण्डे, सन्तोष पौडेल, सोना प्रधान, सुरज श्रेष्ठ, रोशन बोहरा र रघुनाथ अगस्टी रहेका छन्।

त्यस्तै अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य समेत रहेका नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की सोही प्रतियोगिता दौरान हुने साधारण सभामा भाग लिन शुक्रबार सर्बिया जाने छन्।

अप्रिल ८ तारिखमा हुने साधारण सभाले आईएसएफको अध्यक्ष चयन गर्ने कार्कीले बताए। कार्की अप्रिल ७ र ९ तारिखमा हुने आईएसएफको कार्यकारी बैठकमा पनि सहभागी हुने छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको