नेपालगंज । विभागीय टोली त्रिभुवन आर्मी क्लबले अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार बाँके नेपालगंज रंगशालामा भएको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेश फुटबल संघलाई ३–० ले हरायो ।
आर्मीको जितमा अनिता लम्जेलले दुई तथा हेमा चौधरी र तुलसा बोहराले समान एक गोल गरेका थिए । खेलको प्लेअर अफ दि म्याच आर्मीकै अनिता घोषित भइन् ।
जितपछि आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । अब, आर्मीले फाइनल प्रवेशको लागि अर्काे विभागीय टोली नेपाल पुलिस क्लब र भारतको सिलगुडी फुटबल संघको विजेतासँग वैशाख ९ गते खेल्नेछ । यस्तै पुलिस र सिलगुडीबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।
आर्मी फागुन अन्तिम साता इलाममा भएको महिला गोल्डकप र चैतमा चितवनमा भएको प्रतियोगितामा दोस्रो भएको थियो । आफ्ना तीन महत्वपूर्ण खेलाडीहरु दीपा शाही, अमिषा कार्की र विमला चौधरीबिना मैदान उत्रिएको आर्मीले पहिलो हाफमा मात्र एक गोल गरेको थियो ।
चक्र तामाङको प्रशिक्षणमा रहेको आर्मीलाई सुरुवाती अग्रता अनिताले चौथो मिनेटमै दिलाइन् । विमला विकले फ्रिकिकलाई सुदूरपश्चिमकी गोलकिपर सुनौना चौधरीले नियन्त्रण लिन नसकेको फाइदा अनिताले लिँदै सिक्स यार्ड बक्सबाट गोल गरेकी हुन् ।
५१औं मिनेटमा आर्मीले दोस्रो गोल थप्यो । प्राप्त फ्रिकिकलाई अनिताले सुन्दर गोलमा परिणत गरिन् । पुर्णिमा टाडीले १८ यार्ड बक्स नजिकै बल हातले छोएपछि रेफ्री कृति शेनले आर्मीलाई फ्रिकिक अवसर दिएकी हुन् ।
चार मिनेटपछि नै आर्मीले तेस्रो गोल गरेको हो । यसपटक हिमा चौधरीले गोल गरिन् । शर्मिला थापाले मिलाएको बललाई अगाडी बढाउँदै हेमाले पेनाल्टी क्षेत्रबाट सुन्दर गोल गर्दै आर्मीलाई सहज अवस्थामा पुर्याएकी थिइन् ।
७७औं मिनेटमा आर्मीले अग्रता ४–० को बनायो । यसपटक वैकल्पिक खेलाडी तुलासाले गोल गरेकी हुन् । सुदूरपश्चिमका खेलाडीले क्लियर गर्न नसकेको बललाई तुलसाले बक्स बाहिरबाटै सानदार गोल गरिन् । उनको शक्तिशाली प्रहार सुदूरपश्चिमकी गोलकिपर सुनौनासँगै डिफेन्डरले रोक्न सकेनन् ।
पहिलो पटक आयोजना भएको लुम्बिनी कपमा आठ टोली सहभागी छन् । घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ , सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लबले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।


